काठमाडौं । नेपाल क्रेडिट एन्ड कमर्स (एनसिसी) बैंक लिमिटेडले लगानीकर्तालाई १८ प्रतिशत वोनस सेयर दिने भएको छ । पुँजी दुई अर्ब पुर्याउनु पर्ने केन्द्रीय बैंकले ब्यवस्था गरेपछि बैंकले १८ प्रतिशत वोनस सेयर वितरण गर्ने भएको हो । एक अर्ब ४७ करोड रुपैयाँ चुक्ता पुँजी रहेको बैंकले १८ प्रतिशत वोनस सेयर दिँदा पुँजी एक अर्ब ७५ करोडको हाराहारीमा पुग्छ ।
गत आर्थिक बर्ष ५ प्रतिशत वोनस सेयर र ०.२६ प्रतिशत नगद लाभांस दिएको बैंकले गत असार मसान्तसम्ममा ३७ करोड ८ लाख रुपैयाँ नाफा गरेको छ । यसभन्दा अघिल्लो बर्ष बैंकको नाफा १७ करोड ७६ लाख रुपैयाँ थियो । रिजर्भलाई पुँजीमा गणना गर्न नपाइने भएपछि बैंकले वाँकी २५ करोड पुँजी सेयरधनीहरुबाट उठाउनु पर्ने वाध्यता छ ।
सेयरधनीहरुले हकप्रदमा पैसा हाल्ने अवस्था नभएपछि बैंकले पुँजी जुटाउने उपाय फेला पारिसकेको छ । बैंकले बाँकी २५ करोड पुँजीका लागि अर्को संस्थासँग मर्ज हुने रणनीति बनाएको छ । बैंकले यसका लागि बलियो पुँजी संरचना भएको वित्तीय संस्था फेला पारिसकेको छ । बैंकले त्यो संस्थासँग आगामी पुससम्म मर्जरको प्रकृया सक्ने योजना बनाएको छ । आन्तरिक रुपमा मर्जरको प्रकृया सकिएपछि बैंक स्वीकृतिका लागि केन्द्रीय बैंक जाने छ ।
मर्जरका लागि संस्था खोज्ने काम व्यवस्थापन समूहले गरेको हो । मर्ज हुने संस्थाका बारेमा केही कुरा अझै फाइनल भइनसकेकाले यसको जानकारी सञ्चालक समितिलाई दिइसकिएको छैन । बैंकले सम्पति तथा दायित्व मूल्यांकन (डिडिए) पछि २५ करोड रुपैयाँभन्दा माथि पुँजी हुने संस्था खोजेको हो ।
गत आर्थिक बर्षको वित्तीय विवरण अनुसार, बैंकको नाफा बृद्धिसँगै प्रति सेयर आम्दानी २५.२३ रुपैयाँ पुगेको छ । बैंकको मूल्य आम्दानी अनुपात ८.८४ गुणा छ भने प्रति सेयर नेटवर्थ १५६ रुपैयाँ माथि छ । बैंकले गत आर्थिक बर्ष ५ प्रतिशत वोनस सेयर र ०.२६ प्रतिशत नगद लाभांस दिएको थियो ।
बैंकको चुक्ता पुँजी १ अर्ब ४७ करोड रुपैयाँ छ । बैंकले १८ करोड २१ लाख नोक्सानी व्यवस्था गरेको छ । यसपाली बैंकको खुद ब्याज आम्दानी बृद्धि भएको छ । यस्तो आम्दानी ७० प्रतिशतले बढेर ७९ करोड ८४ लाख रुपैयाँ पुगेको छ । कमिसन आम्दानी ३३.२७ प्रतिशतले बढेर ७ करोड ४१ लाख रुपैयाँ पुगेको छ । बैंकको विदेशी मुद्रा किनबेचबाट हुने आम्दानी भने घटेको छ । अघिल्लो बर्ष एक करोड ७५ लाख यस्तो आम्दानी गरेको बैंकले यसपाली जम्मा ४६ लाख रुपैयाँ मात्र गरेको छ ।
बैंकको ऋण २४ प्रतिशतले बढेर १६ अर्ब रुपैयाँ र निक्षेप ३१ प्रतिशतले वढेर २१ अर्ब ६५ लाख रुपैयाँ पुगेको छ । बैंकको जगेडा कोषको रकम ८२ प्रतिशतले वढेर ८२ करोड ३५ लाख रुपैयाँ पुगेको छ ।
बैंकका अनुसार, पुँजी कोष अनुपात ११.९५ प्रतिशत छ भने खराव कर्जा २.६ प्रतिशतमा झरेको छ । पुँजी लागत पनि घटेको छ । यस्तो लागत ८.५ प्रतिशतबाट घटेर ६.५८ प्रतिशतमा आएको छ । कर्जा निक्षेप अनुपात ७१.५१ प्रतिशतबाट झरेर ६८.६२ प्रतिशतमा आएको छ । बैंकको आधार दर ९.९१ प्रतिशत रहेको छ । बैंकको स्प्रेड दर २.७९ प्रतिशतबाट बढेर ३.८ प्रतिशत पुगेको छ ।