धुन्चे (रसुवा), फागुन ५ गते । चिलिमे जलविद्युत् कम्पनी घाटामा गयो भन्दै सोझासाझा जनताको सेयर कम मूल्यमा ठगी गर्नेमाथि स्थानीय प्रशासनले कारबाही चलाएको छ ।

रसुवाली नागरिकले सुरुमा खरिद गरेको सेयर कित्ताको मात्र सात÷आठ सय रुपैयाँ दिई बोनस सेयरसमेत सिधै ठगहरूले खान खोजेका र अर्कोतर्फ प्रतिकित्ता एक हजार ५५० मूल्यका सेयरको आधामात्र पैसा दिई ठगी गरेकाहरूमाथि छानविन प्रक्रिया अगाडि बढाइएको रसुवाका प्रजिअ वासुदेव घिमिरेले बताउनुभयो । अनुसन्धानका क्रममा सोधपुछ गर्ने काम भइरहेको छ । फरार रहेका तीन जनाको खोजी कार्य जारी रहेको प्रजिअ घिमिरेले जानकारी दिनुभयो ।

सेयरसम्बन्धी स्थानीय ग्रामीणवासीमाझ जनचेतना जगाउने उद्देश्यले नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्चेन्ज काठमाडौँद्वारा आज धुन्चेमा पहिलो पटक आयोजित चेतना अभिवृद्धि कार्यक्रममा प्रजिअ घिमिरेले रसुवाली सोझासाझा जनताको सेयर संरक्षण गर्न हालसम्म गरिएका प्रयासको कार्य प्रगति प्रस्तुत गर्दै चिलिमे जलविद्युत् कम्पनीले प्रदान गरेको विद्युत् सेयर ठगी गर्ने व्यक्तिलाई कानुनी दायरामा ल्याएरै छाड्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

तीन वर्ष अगाडि रसुवावासीलाई प्रदान गरिएको नौ लाख ६० हजार कित्ता सेयर गत माघ ११ गतेदेखि बिक्री खुल्ला भएपछि चिलिमे कम्पनी घाटामा गयो अब डुबिन्छ भन्दै भ्रम फैलाएर ठगहरूले सोझासाझा जनताको तमसुकसमेत गराउँदै हिँडेको सूचना पाउनासाथ त्यस्ता फर्र्जी कामको नामसारी रोक्न आफूले नेपाल धितोपत्र बोर्ड र नागरिक लागनी कोषलाई समयमै आग्रह गरिसकिएकोसमेत प्रजिअ घिमिरेले जानकारी दिनुभयो ।

नेपाल धितोपत्र बोर्डका निर्देशक निरज गिरी, उपनिर्देशक मुक्ति श्रेष्ठ र नेपाल स्टक एक्चेन्जका सुरेश जोशीले आ–आफ्नो संस्थाको दायित्व र सेयर बजारको महत्वबारे सहभागीमाझ प्रष्ट्याउँदै नीति नियमबारे समेत जानकारी गराउनुभएको थियो ।
http://gorkhapatraonline.com/%E0%A4%85%E0%A4%B0%E0%A5%8D%E0%A4%A5/11155-%E0%A4%B8%E0%A5%87%E0%A4%AF%E0%A4%B0%E0%A4%AE%E0%A4%BE-%E0%A4%A0%E0%A4%97%E0%A5%80-%E0%A4%97%E0%A4%B0%E0%A5%8D%E0%A4%A8%E0%A5%87%E0%A4%AE%E0%A4%BE%E0%A4%A5%E0%A4%BF-%E0%A4%95%E0%A4%BE%E0%A4%B0%E0%A4%AC%E0%A4%BE%E0%A4%B9%E0%A5%80-%E0%A4%B8%E0%A5%81%E0%A4%B0%E0%A5%81.html