धितोपत्रसम्बन्धी ऐनले स्थानीय स्रोतबाट उत्पादित कच्चा पदार्थ प्रयोग गर्ने सबै उद्योगले स्थानीय समुदायलाई १० प्रतिशत शेयर दिनुपर्ने व्यवस्था गरेको छ । सोही प्रावधानअनुसार पहिलोपटक चिलिमे जलविद्युत् कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दालाई शेयर बाँडेर कम्पनीको मालिक बनाएको थियो । तर, आज तिनै मालिक ठगिँदै छन् । यसमा कम्पनी स्वयम् पनि जिम्मेवार छ । उसले आफ्ना मालिकलाई शेयर कारोबार कहाँ र कसरी गर्ने भनेर सिकाउनुपर्ने थियो, जुन काम गरेको छैन । त्योभन्दा बढी दोषी नियामक निकाय हो । नेपाल धितोपत्र बोर्ड अहिले पनि कानमा तेल हालेर बसेको छ । लगानीकर्ता प्रशिक्षण गर्ने भन्दै देशभर अभियान चलाएको बोर्डले शेयर प्रमाणपत्र बोकेर बसेका रसुवावासीलाई भने प्रशिक्षण दिन आवश्यक ठानेन । अहिले जिल्ला प्रशासन कार्यालयले ठगी भएको प्रमाणित गरेर अनुसन्धान गर्दा पनि बोर्डलाई दायित्वबोध भएको छैन । बोर्डका प्रवक्ता नीरज गिरिले उक्त ठगीको घटनालाई ‘लगानीकर्ता सचेतनाको अभाव’ भनेका छन् । तर, त्यहाँ सचेतना जगाउने दायित्व आफ्नो हो भन्ने चेत बोर्डलाई आएको छैन । यति धेरै लगानीकर्ता ठगिएको घटनालाई छानबिन गर्ने र स्थानीय सञ्चारमाध्यमबाट सचेतना जगाउने काममा बोर्ड अग्रसर हुनुपर्‍थ्यो । उसले यी सबै काम आफ्नो हो भन्ने महसूससम्म गर्न सकेको देखिँदैन ।


source: http://abhiyan.com.np/article-frontpage_14magh2070_share