लक्ष्मीबहादुर श्रेष्ठ, जीतबहादुर श्रेष्ठ समूह र निर्मल प्रधान–ज्ञानेन्द्रलाल प्रधान समूहको आपसी दाउपेचको द्वन्द्वमा परेको एनसीसी बैंकमा अस्थायी युद्ध विराम भएको छ र ४ महिनापछि दुबै समूह सम्मिलित सञ्चालक समितिको बैठक सम्पन्न भएको छ । बैठक पृथ्वीराज लिगलको अध्यक्षतामा बसेको थियो । बैठक गत ११ गते मंगलबार भएको थियो । दुई समूहबीचको विवादका कारण बैंकका आन्तरिक निर्णय र राष्ट्र बैंकका गोप्य निर्देशनहरु एकपछि अर्को सार्वजनिक हुँदै गएपछि राष्ट्र बैंकको वाणिज्य बैंक नियमन तथा सुपरीवेक्षण विभागका कार्यकारी निर्देशक लोकबहादुर खड्काको चरम दबाबपछि दुबै समूह बैठक बस्न राजी भएको समाचार स्रोतको दाबी छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफूमाथि कारबाही थालेपछि कार्यकारी निर्देशक खड्काले एनसीसी बैंकका दुबै समूहलाई दबाब दिएर बैठक बस्न बाध्य बनाएका हुन् ।

बैठकले निर्मल प्रधानको नेतृत्वमा रहेको सर्वाधिकार सम्पन्न एकल आयोगलाई निष्क्रिय राख्ने भई सहमति गरेको छ । एनसीसी बैंकको साधारणसभाले प्रधान मात्रै रहेको ए सदस्यीय पुनरावलोकन कमिटी बनाएको थियो । प्रधानलाई विगतको क्रियाकलापको पूर्ण रुपमा छानबिन र कारबाही गर्ने असीमित अधिकार दिएको थियो । साधारणसभाले असीमित अधिकार दिएको एक सदस्यीय कमिटीका प्रधानलाई सल्लाहकार बनाएर बैठकले सञ्चालक अशोक राणाको संयोजकत्वमा तीन सदस्यीय मर्जर एण्ड स्टाटेजिक प्लानिङ कमिटी गठन गरेको छ । उक्त कमिटीमा तीर्थ प्रधान र वेदमानसिंह मल्ल सदस्य रहका छन् । सो कमिटीले मर्ज लगायत बैंकको भावी रणनीति योजना तयार गर्ने जिम्मेवारी पाएको छ, तर कार्य विधि तयार भैसकेको छैन । कार्यविधि आफैं बनाएर लगाम खिच्ने निर्मल प्रधानको योजना भए पनि लक्ष्मीबहादुर श्रेष्ठले यो निर्णयसँगै प्रधान समूहलाई बिस्तारै गलाउँदै लैजाने रणनीति बनाएको स्रोतको दाबी छ । लक्ष्मीबहादुर समूहका सञ्चालकसँग बैठक बस्न राष्ट्र बैंकका कार्यकारी निर्देशक खड्काले प्रधान समूहलाई अपूर्व दबाब दिएका थिए ।

यसअघि उक्त बैैंकमा खेमागत विवाद बढाएर एक पक्षले अर्को पक्षविरुद्ध उजुरी गर्न लगाएर आपूm अनुकूल परिणाम निकाल्दै आएको राष्ट्र बैंकमाथि अख्तियारले कारबाही थालेर निगरानी बढाएपछि एनसीसीको व्यवस्थापन मिलाउन आफ्नो संयन्त्रलाई सक्रिय तुल्याएको हो । सधै बैंक तथा वित्तीय संस्था फुटाउन सक्रिया राष्ट्र बैंकले लगभग फुटेको बैंक व्यवस्थापन मिलाउन पहल गरेको यो नै उदाहरणीय घटना हो । राष्ट्र बैंक दबाबपछि एनसीसी बैंकमा अस्थायी युद्धविराम भएको छ र गत असार २७ गते माग गरिएको विशेष साधारणसभाको म्याद सकिए पनि प्रधान समूह कम्पनी रजिष्ट्रारको कार्यालयमा निवेदन नहाल्ने संकेत देखिएको छ । लक्ष्मीबहादुर–जीतबहादुर श्रेष्ठको नामको सेयर लीलामसम्बन्धी मुद्दामा आगामी २६ गते अदालतबाट आदेश आउने अपेक्षा सहित प्रधान समूहले २६ गतेसम्म आलटाल गर्ने योजना बनाएको हो ।

सेयर लीलामीपछि दुई जना सञ्चालक परिवर्तन हुनेछन् । अहिलेको सञ्चालक समितिमा लक्ष्मीबहादुर श्रेष्ठको पक्षमा अध्यक्ष सहित चार र प्रधान खेमामा तीन जना रहेका छन् । त्यतिबेला २–५ को समीकरण बन्ने छ । अहिले लक्ष्मीबहादुर समूहमा अध्यक्ष पृथ्वीराज लिगल, वासुदेव गिरी, नारायणराज तिवारी र वेदमान सिंह मल्ल रहेका छन् भने प्रधान समूहका तीर्थ प्रधान, अशोक राणा र हरि भट्टराई रहेका छन् । तर, यही बीचमा भूमिगत रहेका लक्ष्मीबहादुर श्रेष्ठले प्रधान परिवारभित्र विभाजनको प्रयास गरेको समाचार स्रोतको दाबी छ । बाह्रबिसेबाट पाँच सय रुपैयाँ लिएर काठमाडौं छिरेका लक्ष्मीबहादुर श्रेष्ठ, जीतबहादुर श्रेष्ठको परिवार देश खाएर शेष भइसकेको छ ।

२०४६ मा प्रजातन्त्र पुनः सपनापछि एकताका जगजगी गरेका लक्ष्मीबहादुर–जीतबहादुर अहिले टाट पल्टेर परिवार सहित भूमिगत भएका छन् तर भूमिगत अवस्थामै रहेर पनि आफ्ना विरोधीलाई दख्खल दिन पछि परेका छैनन् । फरार अभियुक्तको सूचीमा रहेका लक्ष्मीबहादुर–जीतबहादुर श्रेष्ठले भूमिगत रहेरै दिएको व्यावहारिक दख्खलले खोजी गर्ने प्रहरी प्रशासनलाई समेत चक्मा दिएको छ । खेमागत विवादका कारण बैंकका प्रमुख कार्यकारी अधिकृत अमृतचरण श्रेष्ठ अत्यन्त अप्ठेरो अवस्थामा रहेका छन् ।