एनबी समूहका कारण ग्लोबल आइएमई बैंकमा समस्या
चन्द्र ढकालको एकलौटी निर्णयको कर्जा नउठ्ने
एनबी समूहको विभिन्न सदस्यहरुको नाममा गएको कर्जाका कारण ग्लोबल आइएमई बैंक अप्ठेरोमा परेको छ । श्रोतका अनुसार ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले व्यक्तिगत निर्णय गर्दै समूहका विभिन्न सदस्यहरुको नाममा दिएको करौडौं रुपैयाँ कर्जा फसेपछि बैंक अप्ठेरोमा परेको हो । अध्यक्ष ढकालले व्यक्तिगत सम्बन्धकै आधारमा कम परिमाणको सेयर धितोमा अत्यधिक मात्रामा कर्जा दिएको समेत श्रोतले बताएको छ । विभिन्न बैंक तथा वित्तीय संस्थासँग अर्बौं रुपैयाँ कर्जा रहेको तथा बैंकिङ कसुरको अभियोगमा पक्राउको सूचीमा समेत रहेका एनबी समूहका सदस्यहरुको नाममा बैंकले बुधबार धितो लीलामीको लागि एक महिने सूचना प्रकाशन गरेपछि यस्तो तथ्य बाहिर आएको हो । अब उक्त कर्जा उठ्ने सम्भावना करिबकरिब सकिएको छ । बैंकले यसअघि पनि एनबी समूहको नाममा कर्जा चुक्ता गर्न आउनको लागि जेठ २२ गते ३५ दिने सूचना जारी गरेको भए पनि अध्यक्ष ढकालकै संरक्षण पाएका कारण उक्त समूहले कर्जा चुक्ता नगरेको श्रोतको दाबी छ । हाल भने बैंकको खराब कर्जा बढेको, निक्षेप तथा कर्जामा सुधार नआएको तथा बैंकको वित्तीय अवस्था कमजोर भएपछि बैंक बाध्य भएर एनबी समूहका सदस्यको नाममा रहेको धितो लीलाम गर्ने अन्तिम निर्णयमा पुगेको श्रोतले बताएको छ । तर, धितोमा रहेको सेयर लीलाम गर्दा पनि एनबी समूहका सदस्यहरुको नाममा गएको सबै कर्जा उठ्ने अवस्था भने छैन, श्रोतले भनेको छ ।
बैंकले बुधबार एनबी समूहका सदस्य लक्ष्मीदेवी श्रेष्ठको नाममा रहेको धितो लीलामीको लागि सूचना प्रकाशन गरेको छ । लक्ष्मी देवीको नाममा कर्जा लिएको उक्त कर्जा एनबी समूहका जीतबहादुर श्रेष्ठ, लक्ष्मीबहादुर श्रेष्ठ र जेन श्रेष्ठले चलाएको समेत श्रोतले जनाएको छ । उक्त ऋण प्रकरणमा व्यक्तिगत जमानीकर्ताको रुपमा भने लक्ष्मीबहादुर श्रेष्ठ, रामेश्वर श्रेष्ठ र जेन श्रेष्ठ रहेका छन् । उक्त ऋण प्रकरणमा जस श्रेष्ठको नाममा एनसीसी बैंकमा कायम रहेको एक लाख २० हजार पाँच सय कित्ता तथा जेन श्रेष्ठको नाममा एनसीसी बैंकमा नै कायम रहेको ९७ हजार कित्ता संस्थापक सेयर लीलाम बिक्री गर्न लागिएको हो । यसैगरी सोही कर्जा प्रकरणमा धितोका रुपमा जीवेश श्रेष्ठको नाममा एनसीसी बैंकमा कायम रहेको एक लाख ३९ हजार पाँच सय कित्ता संस्थापक सेयर, बिन्सन श्रेष्ठको नाममा एनसीसीमा नै कायम रहेको ६५ हजार कित्ता संस्थापक सेयर एवम् एल्सन श्रेष्ठको नाममा एनसीसी बैंकमा नै कायम रहेको एक लाख ३९ हजार पाँच सय कित्ता संस्थापक सेयर लीलाम गर्ने तयारी गरिएको हो । धितोमा रहेको सेयर लीलामीसम्बन्धी अन्तिम निर्णय भने असोज २३ गते हुने छ ।